युट्युबको बारेमा त के कुरा गर्नपर्ला र। तपाईँहरु सबै जानकार नै हुनुहुन्छ। राम्रा कुरालाई नराम्राले उछिन्ने प्रवृत्ति अनुसार अचेल सनसनीपूर्ण, भ्रम फैलाउने र तथ्यभन्दा बाहिर गई गरिने एकोहोरो प्रस्तुतिलाई ‘युट्युबकारिता’का रुपमा बुझ्‍ने गरिएको छ जसलाई अलि हेप्ने भाषामा ‘युट्युबे’भनिन्छ। यसका हेडलाइनहरु गज्जब गज्जबका हुन्छन्, साँचो होस् या गलत मतलब छैन, क्लिक गर्ने हुनुपर्छ। कतिपय सोध्ने गर्छन्, हैन युट्युबेलाई चाहिँ कानुन लाग्दैन? क्यामेरा र माइक बोकेर जे पायो त्यही बोल्न मिल्छ?

युट्युबमा राखिएको भिडियो र त्यसमा राखिएको हेडलाइनको विषयमा भने दुई तहको अदालतसम्म पुगेको एउटा केस मैले फेला पारेको छु। विषयवस्तुको हिसाबले यो अलि फरक खालको केस लाग्यो।

के हो विवाद ?

तपाईँले हेर्ने गर्नुभएको छ कि छैन तर ‘यौनका कुरा’ नामको एउटा युट्युब च्यानल छ। यो युट्युब च्यानलमा शीर्षक जस्तै यौनका कुरा हुन्छन्। विशेषज्ञ डाक्टरसित दर्शकले आफ्ना यौनसम्बन्धी समस्या राख्छन् र डाक्टरले यसको समाधान सुझाउँछन्। खासमा यो युट्युबका लागि बनाइएको अलग्गै कार्यक्रम नभएर ‘टिभी टुडे’ नामको टेलिभिजनमा राति प्रसारण हुने यही नामको कार्यक्रमको भिडियो युट्युबमा अपलोड गरिएको मात्र हो।

कार्यक्रमकी प्रस्तोता थिइन् भगवतीकुमारी मैनाली उप्रेती। २०७६ सालको जेठ २० गते उनले आफ्नो चरित्र हत्या भएको भन्दै विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्नका लागि प्रहरीमा जाहेरी दरखास्त दिइन्। जाहेरीमा उनले उठाएका मुख्य कुरा यस्तो थियो-

  • मिडियाका संचालक रामकृष्ण तिमिल्सिनाले उक्त टेलिभिजन कार्यक्रमका अंशलाई मेरो सहमती र अनुमती बिना युट्युवमा विभिन्न अश्लील अपाच्य शब्दहरु सहितको शीर्षक बनाई दुरुपयोग गर्दै आएको,
  • आबद्धता पत्र बमोजिम नगरी आफ्नो मनोमानी ढंगले स्वरुप परिवर्तन गरी मेरो चरित्र हत्या हुने कार्य गरेको,
  • मैले सो कार्य नगर्न अनुरोध गर्दा पनि अटेर गरी बारम्बार सो कार्य दोहोऱ्याउँदै आएको र हाल आएर निजले सामाजिक संजाल युट्युवमा राखेको सो भिडियोहरु हटाउदिन भनी धम्की दिदै आएको।

कार्यालयमा प्रहरीको छापा

अनुसन्धानका क्रममा प्रहरीले काठमाडौँको महाराजगंज चक्रपथस्थित रामकृष्ण तिमिल्सिनाले संचालन गरेको रिफ्लेक्सन क्लारियन मिडिया प्रा.लि.को कार्यालयमा २०७६ जेठ ३० गते छापासमेत मार्‍यो।

त्यस क्रममा एउटा ल्यापटप र सात वटा हार्ड डिस्क र एउटा पेन ड्राइभ बरामद गर्‍यो।

यौनका कुरा युट्युब च्यानलको स्क्रिनसट

सहमति र अनुमति बिना अपलोड गरेको अभियोग

अनुसन्धान सकाएर प्रहरीले प्रस्तावित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रस्तुत गर्‍यो र त्यही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले २०७६ असार १ गते अभियोग पत्रसहित मुद्दा दर्ता गर्‍यो।

रामकृष्ण तिमिल्सिनालाई यौनका कुरा नामको कार्यक्रमको भिडियोलाई छाँटकाँट गरी अश्लील शीर्षक राखी भगवतीको सहमति र अनुमति बिना युट्युबमा अपलोड गरी सामाजिक संजाल मार्फत अमर्यादित कार्य गरी चरित्रहत्या गरेको अभियोग लगाइएको थियो।

उनलाई विद्युतीय कारोवार अपराध ऐन, २०६३ को दफा ४७(१)को कसूरमा सोही दफा ४७ (१) बमोजिम सजाय गरी उनीबाट बरामद भएको सामानहरु दफा ५६ बमोजिम जफत गर्न र दफा ५८क तथा दफा ७६ अनुसार जाहेरवालीलाई उचित क्षतिपूर्ति दिलाइपाऊँ भन्ने समेत जिकिर अभियोग पत्रमा थियो।

अदालतमा रामकृष्णको बयान : चरित्र हत्या भन्न मिल्दैन

अदालतमा रामकृष्णले भिडियोको शीर्षक विषयवस्तुसँगै सम्बन्धित रहेकोले अश्लील पनि नरहेको र चरित्र हत्या पनि गरेको बयान दिए।

उनले बयानमा भने,

मैले संचालन गरेको रिफ्लेक्सन क्लारियन मिडिया र टि.भि. टुडे बीच यौनका कुरा नामक कार्यक्रम रात्रीकालिन प्रसारण गर्न मिति २०७४ भाद्र महिनादेखि सम्झौता भएको थियो। उक्त कार्यक्रम यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम हो। उक्त कार्यक्रम संचालन गर्नका लागि मैले जाहेरवालीसँग सम्झौता गरी निजलाई नियुक्त गरेको हँ।

उक्त कार्यक्रमको सर्वाधिकार निर्मातासँग रहने हँदा मैले उक्त भिडियोहरु यु ट्युवमा अपलोड गरेको हुँ। उक्त कार्यक्रममा देशका वरिष्ठ चिकित्सकबाट यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या र जिज्ञासामा परामर्श दिइने गरिन्छ। उक्त १ घन्टाको कार्यक्रमलाई देश विदेशमा रहेका दर्शकहरुले सहज हेर्न सकुन् र उनीहरुको समस्या समाधान होस भनी विषयगत समस्याहरुलाई काँटछाँट गरी यू ट्युवमा अपलोड गर्ने गरिन्छ। ताकि उनीहरुले आफ्नो कुनै पनि समस्या र जिज्ञासाहरु तत्काल प्राप्त गर्न सकून्।

यसका साथै यू ट्युवमा अपलोड गर्दा सम्बन्धित समस्या र जिज्ञासाहरुबाटै शीर्षकहरु चयन गर्ने गरिन्छ। हरेक शीर्षकहरु उक्त भिडियोको अन्तरवस्तुसँग सम्बन्धित रहेको हुन्छ।

यो एक यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम भएकोले जाहेरवालीले भने अनुसार शीर्षकहरु अश्लील नभै उक्त भिडियो मै आधारित भएको हुनाले यसलाई अश्लील भन्न मिल्दैन। मैले कहीँ कतै पनि शीर्षकहरु राख्दा जाहेरवालीको नाम जोडेको छैन। त्यसैले निजको चरित्र हत्या भयो भन्न मिल्दैन।

किनकि उक्त समस्या र जिज्ञासाहरु दर्शकहरुको हो। निजले कार्यक्रम संचालनमा नियमित रुपमा सहभागी नभएको र अर्को संचालक नियुक्ती गरेकोले ममाथि प्रस्तुत आरोप लगाएको हो।

निजले प्रस्तुत आरोपहरु कार्यक्रम संचालन भएको १/२ महिनामा नै लगाउन सक्थिन्। यो कार्यक्रम संचालन भएदेखि नै भिडियोहरु युट्युबमा अपलोड गरिँदै आएको हो सो कुरा निजलाई जानकारी नै थियो।

यसमा उनले उठाएका दुई कुरा पनि महत्त्वपूर्ण छन्-अर्को सञ्चालक नियुक्त गरेकोले आरोप लगाएको हो, नत्र यी आरोपहरु कार्यक्रम सञ्चालन भएको १/२ महिनामै लगाउन सक्थिन्। भिडियो युट्युबमा त कार्यक्रम सञ्चालन भएदेखि नै अपलोड गरिएको थियो।

२५ हजार धरौटीमा रिहा

जेठमा अनुसन्धानका लागि पक्राउ परेदेखि उनी प्रहरी हिरासतमा रहनु पर्‍यो। असार २ गते बल्ल अदालतमा थुनछेकको बहसपछि २५ हजार धरौटीमा पुर्पक्षका लागि तारेखमा राख्ने आदेश भयो। उनी हिरासतमुक्त भए।

अदालतमा बकपत्र- झण्डै पोर्नोग्राफी बनाएर युट्युबमा अपलोड भयो

भगवतीले अदालतमा यस्तो बकपत्र गरिन्-

म निज प्रतिवादीले सञ्चालन गरेको रिफ्लेक्सन क्लारियन मिडिया अन्तर्गत अनुबन्धित भई २०७४ भाद्र महिनाबाट टि.भि. टुडेका लागि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा मनका कुरा नाम शीर्षकको कार्यक्रम र प्रस्तोताको रुपमा अनुबन्धित भई कार्य गर्दै आएको थिएँ।

उक्त प्रत्यक्ष प्रसारण कार्यक्रमका अंशलाई प्रतिवादी रामकृष्णले मेरो अनुमती नलिई विभिन्न अश्लिल र अपाच्य शब्दहरु सहितको शीर्षकहरु बनाई त्यस्तै फोटोहरु पनि राखी झण्डै प्रोनोग्राफी जस्तो बनाई यु ट्युवमा अपलोड गर्दै आएको थियो। निजले समाजमा महिलाको अस्मितालाई समेत आँच आउने खालको शब्दहरुको चयन गरी वदनियत पूर्वक चरित्र हत्या गर्ने कार्य गरेको हो।

मैले बारम्बार सुचना गर्दा पनि यु ट्युवबाट त्यस्ता अश्लिल शीर्षकहरु र फोटोहरु हटाउन नमानेको हो। यसले गर्दा मेरो पारिवारिक अवस्थामा विखण्डन ल्याएको तथा हाल पारिवारिक मानसिक र सामाजिक मर्यादामा खलल पुऱ्याएको, मेरो छोराछोरीलाई समेत उनीहरुका साथीभाई र समाजले समेत जिस्काउने, विल्ला गर्ने गरेको हुँदा मेरो किशोर अवस्थाकी छोरीको समेत मानसिक अवस्थामा समेत असन्तुलन आएको छ।

यस्तो अवस्थाले गर्दा म आत्महत्या गर्न बाध्य भएकी छु भनी छोरीले भन्ने गरेकी छिन्। मैले जाहेरी दिँदा पनि निज प्रतिवादीले मैले चलाएका कार्यक्रमहरु अझै थप अपलोड गरेको छ।

काठमाडौँ जिल्ला अदालतले दियो सफाई

तर अदालतले भने ती जिकिरहरुलाई अभियोग पुष्टि हुने प्रमाणका रुपमा स्वीकार गरेन। उनले टिभी टुडेमा प्रसारण भइसकेकै कार्यक्रम अपलोड गरेका थिए। शीर्षकको विषयमा पनि कार्यक्रम भित्रकै शब्दहरु चयन गरी विभिन्न शीर्षक दिएका थिए। फेरि त्यो काम पनि पहिलेदेखि नै अपलोड गरेको पनि देखियो।

यी विभिन्न तथ्यका आधारमा ‘प्रस्तुत मुद्दामा प्रतिवादी रामकृष्ण तिमिल्सिनाले वादी नेपाल सरकारको अभियोग दावी विद्युतीय (ईलेक्ट्रोनिक्स) कारोबार ऐन, २०६३ को दफा ४७(क) बमोजिमको कसूर गरेको कुरा शंकारहित एवं वस्तुनिष्ट तवरले पुष्टि हुन सकेको अवस्था नहुँदा प्रस्तुत मुद्दामा प्रतिवादी रामकृष्ण तिमिल्सिनाले सफाई पाउने ठहर्छ। प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको अभियोग दावी पुग्न सक्दैन’, काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुणेश्वरप्रसाद उपाध्यायको एकल इजलासले २०७६/६/३० मा फैसला गर्‍यो।

सरकारले चित्त बुझाएन, उच्चमा पुनरावेदन

यो विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा सरकार वादी हुने गर्छ। सरकारले जिल्ला अदालतको यो फैसलामा असन्तुष्टि जनाउँदै उच्च अदालत पाटनमा पुनरावेदन गर्‍यो।

चरित्र हत्या भएको अनुमान गर्न मिलेन

उच्च अदालतले फैसलामा लेख्यो-

जाहेरवाली र प्रतिवादीबीच सम्झौता बमोजिम टिभीमार्फत् यौन एवम् प्रजनन सम्बन्धी सामाग्री प्रसारण भएकोमा उक्त कार्यक्रम नै यी प्रतिवादीले युट्युब मार्फत पुनः प्रसारण गरेकोसम्मको उक्त कार्य कानूनद्वा रा प्रतिबन्धित समेत नभएको र पूर्व प्रसारित उक्त कार्यक्रमलाई युट्युबमा प्रसारण गरेकै कारणले जाहेरवालाको इज्जत प्रतिष्ठामा आँच आयो, जाहेरवालाको चरित्र हत्या भयो भनी अनुमान गर्न मिलेन।

प्रतिवादीमा जाहेरवालाको मान प्रतिष्ठामा आघात पुयाउने त्यस्तो रिसइवी वा वदनियत रहे भएको भन्ने मिसिल प्रमाणबाट समेत देखिँदैन।

 

आफैले प्रसारण गरेको कार्यक्रम युट्युबमा पुनः प्रसारण गरिदिएको कारण आफ्नो इज्जत प्रतिष्ठामा आँच आयो भनी दिएको जाहेरी दरखास्त र सो अनुसारको बकपत्र सम्मलाई आधार मानी यी प्रतिवादीलाई कसूरदार ठहर गरी सजाय गर्न मिल्ने अवस्था नदेखिएको उच्च अदालतको ठहर रह्यो।

न्यायाधीश दिपेन्द्रबहादुर बम र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले २०७७ माघ २३ गते गरेको यो फैसला केही दिनअघि मात्रै प्रमाणीकरण भएको हो।

व्यर्थको मुद्दा

विषयवस्तुलाई गहिरिएर अध्ययन गर्ने हो भने यो व्यर्थको मुद्दा उठान गरी अनुसन्धान र अदालतको समय खर्च गरेको देखिन्छ। विद्युतीय कारोबार ऐनको नाममा यस्ता धेरै मुद्दाहरु लगाउने गरिएको छ जसले खासमा प्रतिवादीहरुलाई केही समय दुःख दिने मात्रै काम गर्छ। आखिरमा अभियोग पुष्टि हुन सक्दैन।

यो विषयमा अनुसन्धान गर्दा नै मुद्दा चल्नुपर्ने विषय होइन भनेर थाहा हुनुपर्ने थियो। किनभने यसमा अश्लील कुराहरु राखिएको थिएन- यौन सम्बन्धी जानकारीमूलक कुरा विज्ञ डाक्टरहरुसँगकै छलफलको विषय हुन्थ्यो। हेडलाइन बङ्ग्याएर राखिएको हो कि होइन भन्ने विषय त भिडियो हेरेर नै थाहा भइहाल्थ्यो।

टेलिभिजनमा प्रसारण भइसकेकै विषय युट्युबमा राखिएको थियो। टिभीमा प्रसारण हुँदा चरित्र हत्या नहुने, त्यसैलाई युट्युबमार्फत् पुनः प्रसारण गर्दा चाहिँ चरित्र हत्या हुने कस्तो खालको तर्क भयो र यो?

टिभीमा राति लाइभ प्रसारण हुने कार्यक्रम, युट्युबमा जति बेला पनि हेर्न सकिने गरी राख्न भएन भनेको भए अलि तर्कपूर्ण हुन्थ्यो। मेरो सम्झौता टिभीको लाइभका लागि मात्र थियो, युट्युबमा राख्न थिएन भन्ने पनि अर्को तर्क हुनसक्थ्यो। तर त्यसका लागि अर्कै कानुन अन्तर्गत मुद्दा चलाउनु पर्थ्यो। त्यसरी मुद्दा चलाउँदा सरकारवादी पनि नहुने सम्भावना हुन्थ्यो। त्यसैले सजिलो बाटो भयो- विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा। यस्तो मुद्दामा सरकार वादी हुन्छ अर्थात् सरकारले मुद्दा चलाउँछ, बहस सरकारी वकिलले गर्छ।

न यो चरित्र हत्या थियो, न कानुनले रोक लगाएको सामग्री नै अपलोड गरिएको थियो। दुई तहको अदालतको फैसलाले पनि यसलाई पुष्टि गरेको छ। बित्थामा अनुसन्धानमा प्रहरी, न्याय निरुपणमा अदालत र अभियोजनमा सरकारी वकिलको स्रोत, साधन र समयको नाश गरेकाे समाचार mysansar बाट साभार गरिएकाे हाे .

फैसलाको पूर्ण पाठ

https://s3.documentcloud.org/documents/21031004/yuttyub-bhiddiyo-r-heddlaain-vidyutiiy-kaarobaar-ain.pdf