Posted By कैफियत Posted On

स्वघाेषित सामाजिक ‘अभियन्ता’को आतंक, जतासुकै दिन्छन तीन करोड नेपालीको धम्की

नवराज कुँवर । ६ फेब्रुअरी २०२० मा एचबीएम नेपाल नामक युट्युब च्यानलमा एउटा भिडियो अपलोड भयो, जहाँ आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेहरूबीच कुटाकुट परेको देखिन्छ । यो भिडियो एकताका युट्युब ट्रेण्डिङमै परेको थियो ।

दाताले पीडितका लागि पठाएको केही हजार रुपैयाँ पुण्य गौतमले हिनामिना गरेको आरोप युट्युबरले लगाउँछन् । भनाभन बढ्दै जान्छ । बीचमा आइपुग्छन्, अर्का कथित् सामाजिक अभियन्ता विनयजंग बस्नेत । ‘१५ हजारमा पीडितलाई जम्मा २ हजार मात्र दिएर १३ हजार कहाँ लैजानुभयो ?’, विनयजंगले पुण्यलाई प्रश्न गर्छन् । प्रतिवादका क्रममा पुण्य भन्छन्, ‘हावा कुरा सुनेर भएन नि, तपाईंले लाखौँलाख खानुभयो रे !’ अनि विनयजंगको पारो तात्छ । ‘बोल्न आउँछ भन्दैमा जे पायो तै बोल्ने ?’ भन्दै उनले पुण्यलाई झापु लगाउँछन् ।

त्यसको केही दिनपछि युट्युबरकाे समूहले घेरेर पुण्य गौतमलाई कुटेको भिडियो भाइरल बन्छ । प्रहरीले केही महिनापछि विनयजंगलाई पक्राउ गरेर हिरासतमा समेत राखेकाे थियाे । आफूलाई सामाजिक अभियन्ता बताउने यिनलाई हेरेर कसले के सिक्ने ?

०००

२ जेठ २०७७ राति नागढुङ्गा नाकामा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि एउटा समूहले दुर्व्यवहार गर्‍यो । लकडाउनका बेला अत्यावश्यक कामका लागि काठमाडौं आएका डाक्टरलाई हप्कीदप्की गर्दै झोला जाँच गर्नेहरूमध्ये केही कथित सामाजिक अभियन्ता नै थिए । उत्तम कार्कीसहितका पाँच जनालाई पछि प्रहरीले थुनेको थियो ।

 ०००

स्वघोषित सामाजिक अभियन्ता हेमराज थापाले केही दिनअघि चितवनमा झगडा गर्दै गरेको भिडियो आएको थियो । मजदुरलाई खाना खुवाउन भन्दै भरतपुर पुगेको उनको समूहले स्थानीय युवासँग विवाद गर्‍याे । यद्यपि, स्थानीयवासीले अनुनय गरेर उनीहरूलाई त्यहाँबाट पठाए र सम्भावित झगडा रोकियो ।

थापाको पारदर्शी आयस्राेत केही छैन । राहत बाँड्न भन्दै अरुबाट पैसा उठाउँछन् । र, गाडीमा युट्युबर, सहयाेगीहरू लिएर फिल्डमा जान्छन् । तस्वीर, भिडियो खिच्छन् र फेसबुकमा पोस्ट गर्छन्- आज यति जना भोकाहरूलाई खाना खुवायौँ । सरकारले गर्न नसकेको काम गर्‍याैँ । अनि आफूले लगेको युट्युबरलाई अन्तर्वार्ता दिन्छन् । आफूलाई तीन करोड नेपालीको साथ रहेको र कोहीसँग नडराउने बताउने थापा पनि झैझगडाका कारण बारम्बार विवादमा आउने गरेका छन् ।

०००

आफूलाई महिला अधिकारकर्मी एवं सामाजिक अभियन्ता बताउने सावित्री सुवेदीले पनि एकपटक बजार पिटिन् । २ भदाै २०७५ मा पेटिकोट मात्र लगाएर माइतीघरमा प्रदर्शन गरेपछि उनी चर्चामा आएकी थिइन् । तर पछि उनीमाथि ठगीका थुप्रै आक्षेप लागे, जसलाई उनले झुटो सावित गर्न सकिनन् । बरु समाज बनाउन हिँडेको दाबी गर्ने उनले आफ्नै बाउआमालाई तिरस्कार गरेको, उनीहरूलाई मुद्दा हालेर ५ लाख लिएको खुलासा भयाे ।

महिला अधिकारका नाममा सावित्रीले परिवारबीच नै सम्बन्ध बिगारिदिने गरेकाे गुनासाे कतिपयले गर्ने गरेका छन् । ४ फागुन २०७५ मा सिन्धुलीमा सावित्रीलाई त्यहाँका स्थानीयवासीले लेखेटेका थिए । उसाे त, यिनले पनि प्रहरी, जनप्रतिनिधि, कर्मचारी र आमनागरिकलाई गालीगलाैज, धम्की दिँदै सामाजिक सञ्जालमा भिडियाे र तस्वीरहरू पोस्ट गर्ने गरेकी छन् ।

सरस्वती काफ्ले उर्फ उमा जैसी, युट्युबर भाग्य न्यौपाने उर्फ हामनाथ न्यौपाने, शर्मिला वाइबालगायत पनि सामाजिक अभियन्ताकै रूपमा चर्चित छन् ।

०००

२०७६ भदौ अन्तिमतिर । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई डल्फिन महोत्सवमा सहभागी हुन कैलालीको टीकापुर पुगेका थिए । नेपालगञ्जदेखि काठमाडौं फर्किने क्रममा उनले विमानस्थल पुग्न आधा घण्टा ढिला गरे । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र त्यही प्लेनबाट काठमाडौं आउँदै थिए ।

फ्लाइट डिले भएपछि उनले मन्त्रीलाई झपारे । सँगै रहेका एक जनालाई भिडियो पनि खिच्न लगाए । मन्त्री भट्टराई नाजवाफ बने । उनी सरासरी गएर आफ्नो सिटमा बसे । ज्ञानबहादुर र अर्का व्यक्तिले मन्त्री भट्टराई बसेकै ठाउँमा पुगेर झपार्ने क्रमलाई निरन्तरता दिए, ‘संस्कृतिमन्त्रीसँग संस्कार छैन । कहाँ मोजमस्ती गरेर आउनु’भो ?’

भट्टराईका सहयोगीले भिडियो खिच्दै प्रश्न गर्ने ती व्यक्तिलाई हटाउन खोजे । एकैछिनमा प्लेन उड्यो । पछि मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेट प्लेन डिले भएको भन्दै माफी मागे । तर, ज्ञानबहादुर राेकिएनन् । मन्त्रीले ढाँटेको भन्दै उनले कुपण्डोलमा पत्रकार सम्मेलन गरे । तर, त्यो पत्रकार सम्मेलन उनकै लागि भारी पर्‍यो । त्यहाँ उपस्थित अनेरास्ववियूका विद्यार्थीले उनलाई अनेक प्रश्न गर्न थाले, ‘तपाईंको आयस्रोत के हो ? पढाइ के हो ? वास्तविक नाम किन लुकाउनुभएको ? तपाईं झुट, ढोंंगी हो । तपाईं एसएलसी फेल हो कि होइन ? इत्यादि ।’

उनीहरू यत्तिमै चुप लागेर बसेनन् । ज्ञानबहादुरलाई चड्कन नै हानिदिए । त्यसपछि प्रहरीले ज्ञानबहादुरलाई नियन्त्रणमा लिएर जावलाखेल लग्याे । प्रहरीले उनलाई सुरक्षाका लागि भन्दै जावलाखेल पुर्‍याए पनि पछि पक्राउ पुर्जी थमाएर हिरासतमा राखेको थियो । अनि सार्वजनिक मञ्चमा बोल्दा शिष्ट र सभ्य भाषा प्रयोग गर्ने सर्तमा उनलाई प्रहरीले छाड्याे ।

उसाे त ज्ञानबहादुर कुनै न कुनै हर्कतका कारण चर्चामै हुन्छन् । हालै मात्र राहत वितरणको नाममा निषेधाज्ञा तोडेर सुर्खेत पुगेका उनी र उनका साथीले कुटाइ खाए । स्थानीयवासीका अनुसार, ज्ञानबहादुरसहित उनको टोलीमा रहेकाहरूले रक्सीको नशामा मध्यरातमा गाउँ पुगेर ठूल्ठूला कुरा गरेकाले केरखोलानजिकका केही युवाले उनीहरूलाई भकुरेका हुन् ।

जुम्लाका यी ज्ञानबहादुरमाथि चेक बाउन्सको आरोप पनि छ । बिस्मात्‌को कुरा त के भने, अरुअरुबाटै पैसा उठाएर ‘थोरै राहत र धेरै सेल्फी’ खिचेर फेसबुकमा पाेस्ट गर्ने यी ज्ञानबहादुरले पैसासँगै केही ‘अन्धभक्त’ समर्थक पनि कमाएका छन् । उनीमाथि लागेका आक्षेपको प्रतिवाद तिनै अन्धभक्तले सामाजिक सञ्जालमा गर्ने गरेका छन्, आलोचकलाई जिउँदै श्रद्धाञ्जलि दिएर । ज्ञानबहादुर आफैँ पनि अरुलाई गाली गर्ने, विभिन्न आरोप लगाउने कारण युट्युबमा छाइरहन्छन् ।

हालै मात्र सुर्खेत घटनाबारे आफूलाई तल पारेर सामाचार बनाएको भन्दै ज्ञानबहादुरले जनता टीभीकी पत्रकार शिखा श्रेष्ठ र धिरज बस्नेतलाई धम्क्याएका थिए । उनको धम्कीप्रति आपत्ति जनाउँदै पत्रकार महासंघको एसोसिएट प्रदेशले विज्ञप्ति निकालेको थियो ।

ज्ञानबहादुरका विवादास्पद तस्वीरहरू सार्वजनिक हुन थालेपछि सामाजिक सञ्जालतिर यिनको आयस्रोतमाथि प्रश्न बाक्लै उठ्न थालेको छ । पैसा उठाएर राहत बाँड्ने यिनी कुन पैसाले महँगो गाडी चढेर हिँड्छन्, कुन आयस्रोतले चल्छन्, इत्यादि । उनको फेसबुक हेर्ने हो भने जनप्रतिनिधि, सरकारी कर्मचारी, राष्ट्रसेवकलाई गालीगलौज गरेको, तीन करोड नेपालीको शक्ति देखाइदिने धम्की दिएकोजस्ता स्टाटस, भिडियोहरू देख्न सकिन्छ ।

०००

खासगरी प्रवासतिर रहेका कथित् सामाजिक अभियन्ताहरू आफूआफूमै भिड्ने गरेका छन् । त्याे टकरावले फेसबुक हेरिसक्नु बनाउँदैन । तथानाम गाली, पाेल खाेलाखाेल, चरित्रहत्या सबैथाेक गर्छन् । अनौठो कुरा त के भने यिनीहरूबीचकाे वाक् भिडन्तमा पक्ष र विपक्षमा लागेर गालीगलौज गर्नेहरू नै केही दिनपछि सामाजिक अभियन्ता कहलाउँछन् ।

हालै मात्र प्रहरीमाथि रंगभेदी दुर्व्यवहार गरेकी ज्वाला भनिने टीका संग्रौला चर्चामा आउनुको कारण रोचक छ । खासमा उनी टेलिभिजनकर्मी रवि लामिछानेकी ‘डाइहार्ट फ्यान’ थिइन् । लामिछानेका आलोचकलाई फेसबुकमा तथानाम गाली गर्दागर्दै उनी आफैँ सामाजिक अभियन्ता बन्न पुगिन् । फेसबुकमा रहेका झण्डै २ लाख फलाेअर्स सायद अहिले उनकाे अहम्‌काे मुख्य स्राेत हाे ।

केही दिनअघि रवि लामिछाने जोडिएको जनमैत्री हस्पिटलले पैसा नतिरेको भन्दै कोरोना संक्रमितको शव उठाउन नदिएको समाचार रिपोर्टर्स नेपाल डटकममा प्रकाशित भयो । त्यही रात कात्यनी चोकस्थित प्राइम टीभी परिसर पुगेर ऋषि धमलालाई ‘थर्काएको’ भन्दै भोलिपल्ट ज्वालाले फेसबुकमा फोटो पोस्ट गरेकी थिइन् । धमला रिपाेर्टर्स क्लबका अध्यक्ष हुन् र रिपाेर्टर्स नेपाल डटकम क्लबले नै चलाएकाे अनुमान गरी ज्वालाकाे समूह धमलाकहाँ पुगेकाे थियाे । पछि त्याे अस्पतालले गल्ती गरेकाे पुष्टि भएकाे थियाे ।

हालै मात्र ज्वाला संग्राैलाले प्रहरी असई मणिकान्त झाबारे रंगभेदी अभिव्यक्ति अनि ‘पावर’को धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । ‘हामीलाई नि कारबाही गर्नुपर्‍यो । तर, यहाँ बस्नै दिँदैनौँ सरुवा एनिहाउ हामी गर्छौं’, निषेधाज्ञा पालना गराउन ड्युटीमा खटिएका प्रहरीले लाइसेन्स मागेपछि आक्रोशित बनेकी उनले ११ जेठमा प्रहरी कार्यालयभित्रै यस्ताे धमास दिएकी थिइन् ।

आफू जनताका लागि खटिएको दाबी गर्ने उनले ती मणिकान्त पनि जनताकै लागि काम गरिरहेकाे कुराको विल्कुल हेक्का राखिनन् । बरु झा हो भने मधेसतिर गएर बस्न भन्दै उनको समूहले साम्प्रदायिक सद्भावविरोधी अभिव्यक्ति दियो । नभन्दै केही दिनमै मणिकान्तकाे सरुवा भएको थियो । भिडियो सार्वजनिक भएपछि दबाबमा परेको प्रहरीले सरुवा फिर्ता गरिसकेको छ । तर, साम्प्रदायिक सद्भावविरोधी अभिव्यक्तिलाई लिएर टीका उर्फ ज्वाला संग्रौलालाई कारबाही गर्नुपर्ने आवाज चौतर्फी उठेको छ ।

०००

काे हुन् सामाजिक अभियन्ता ? 

शब्दकोशमा अभियन्ता भनेको इन्जिनियर भनिएको छ । चलनचल्तीको भाषामा कुनै अभियानमा निरन्तर सरिक व्यक्तिलाई अभियन्ता भन्ने गरिएको छ । अर्थात् अगुवाको पर्यायका रूपमा अभियन्ता चलाउने गरिएको छ । सामाजिक अभियन्ता कसलाई भन्ने अहिले खासगरी ट्विटरमा बहस तातेको छ । पैसा उठाएर राहत बाँड्ने कामले नै सामाजिक अभियन्ता भइन्छ त ? धेरैले यही प्रश्न गरिरहेका छन् । ‘यो सामाजिक अभियन्ता भन्ने शब्दावली अचेल निकै बिझ्न थालेको छ । बदनामले पनि आफूहरूलाई अभियन्ता भनेको देख्दा–सुन्दा वास्तविक अभियन्ताले अपमानबोध गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, ट्विटरमा पत्रकार धर्मेन्द्र झाले लेखेका छन् ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउने सामान्यतः समाजको बृहत्तर सुधारमा खटिने, सामाजिक हितलाई नै स्वार्थ मान्ने, विकृति, विसंगति, अराजकताको खिलाप सक्रिय हुने, जनचेतना अभिवृद्धि गर्नेहरूलाई नै सामाजिक अभियन्ता मान्छन् ।

विपन्न, असहाय, विपत्तिपीडितहरूका लागि सहयोग संकलन गरेर वितरण गर्नु सामाजिक काम भए पनि त्यसैका आधारमा सामाजिक अभियन्ताको पदवी दिनुलाई उनी स्वाभाविक ठान्दैनन् । ‘हामीकहाँ त ठग्दाठग्दै, गुण्डागर्दी गर्दागर्दै, अरुको चरित्रहत्या गर्दागर्दै एकाएक सामाजिक अभियन्ता बन्ने होड नै चलेको छ’, चलाउने भन्छन्, ‘केवल चर्चाका लागि गरिने काम त्यति सम्मानजनक पदवीका लागि योग्य हुँदैन भन्ने लाग्छ ।’

उसाे त, जो पनि आफूलाई सामाजिक अभियन्ता भएको दाबी गर्न थालेपछि ट्विटरमा खिसिटिउरी हुने गरेको छ । कतिपय ट्विट यस्ता सामाजिक अभियन्तालाई कटाक्ष गर्दै आउने गरेका छन् । जस्तो कि ट्विटरमा घाटे वैद्य लेख्छन्, ‘प्रश्न उठाउन नपाइने, शासक र सनकी मानसिकता बोकेका सरकारको काम गर्ने सबै लम्पट हुन्छन् भन्ने सोच्ने, समाजदेखि टाढा रहेका, विलासी जीवन बिताउनेलाई सामाजिक अभियन्ता भनिन्छ ।’

कथित् सामाजिक अभियन्ताहरू आफूलाई ठूलो जनसमर्थन रहेको ठान्छन् । त्यसैले बोलीपिच्छे उनीहरू ‘तीन करोड नेपाली’ भन्न छुटाउँदैनन् । मणिकान्तमाथि भएको दुर्व्यवहारमा ज्वाला समूहका एक जनाले सोधेका छन्, ‘तपाईंले देशका लागि पाँचवटा राम्रा काम के गर्नुभयो, भन्नुस् ?’

यो प्रश्न मात्र होइन, कथित् अभियन्तामा उकुसमुकुस दम्भ पनि हो । राहत, सहयोगको नाममा विदेशमा काम गर्ने नेपालीबाट पैसा उठाएर बाँड्ने यिनीहरू विल्कुल पारदर्शी हुँदैनन् । राहत र सहयोग भएकाले कर पनि लाग्दैन । त्यसैले आयस्रोतको कुनै काम नगर्ने यस्ता थुप्रै अभियन्ताको दैनिकी केवल पैसा उठाउने, केही जोगाउने र केही बाँड्ने भएको छ ।

कसरी बल पाए ?

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लोकतान्त्रिक प्रणाली कमजोर भएकाले नै अराजकता मौलाएको बताउँछन् । सामाजिक अभियानका नाममा हुने कतिपय गतिविधि र अभियन्ताका कारण नीतिगत सुधारमा खबरदारी गर्दै आएको नागरिक आन्दोलनसमेत बदनाम हुन सक्ने उनकाे चिन्ता छ । ‘जनताका लागि काम गर्नु नराम्रो होइन’, उनी भन्छन्, ‘तर, त्यो देखावटी मात्र हुनुहुँदैन । सबै नागरिककाे बुझाइ एकै हुँदैन । कथित् सामाजिक अभियन्ताले गर्दा सिंगाे नागरिक समाज बदनाम हुने हाे कि भन्ने चिन्ता छ ।’

उनका अनुसार नागरिक समाजमै पनि केही मानिस परिणाममुखीभन्दा पपुलिस्ट काम गर्न चाहने खालका छन् । यसप्रति अगुवाहरू बेलैमा सचेत हुनुपर्नेमा उनकाे जाेड छ ।

लेखक तथा नागरिक अगुवा सञ्जीव उप्रेती लोकतान्त्रिक अभ्यास र यसका संस्थाहरू कमजोर हुँदै जाँदा नागरिकमा एकखाले आक्रोश पैदा भएको बताउँछन् ।

उनको संकेत छ- यही आक्रोशको फाइदा उठाउँदै कथित् सामाजिक अभियन्ताहरू अगाडि आएका छन् । उनी भन्छन्, ‘यहाँ राजनीतिज्ञ, व्यापारी, कर्मचारीको मिलिभगतमा धेरै नराम्रा कामहरू भइरहेका छन् । जनतामा निराशा थपिएको थपियै छ । लोकतन्त्रका संस्थाहरू कमजोर बनेका छन् । परिणामस्वरुप विभिन्न संकेतहरू देखिँदा छन् ।’

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउने लेखक उप्रेतीको भनाइसँग सहमत छन् । उनी पनि लोकतन्त्र र राज्यका विभिन्न संस्थाहरूको क्षयीकरणले नै ‘एटेन्सन सिकरहरू’लाई मौलाउने मौका दिएको बताउँछन् ।

‘कमजोर लोकतन्त्र अनि नाजुक सेवाप्रवाहका कारण नागरिक आक्रोशित छन् । त्यसैले नेतालाई गालीगलौज गर्ने, प्रणालीलाई धिक्कार्नेहरू ती आक्रोशित नागरिकका अघि साथीजस्ता बन्न पुगे,’ उनी भन्छन्, ‘तर, डर के हो भने, कालान्तरमा एउटा ठूलै जमातलाई यस्तै कथित सामाजिक अभियन्ताले डोर्‍याउन सक्छन् । यसप्रति बेलैमा ध्यान दिन सक्नुपर्छ, खासगरी राजनीतिज्ञले ।’ shilapatraबाट साभार ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *